बिहिबार, ०८ माघ २०७७ Paschim Nepal News
धनगढीः धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको छ। यसपूर्व त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई शत प्रतिशत सरकारी लगानी हुने गरि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको प्राध्यापक संघका सभापति लोकबहादुर बिष्टले बताउनुभयो।
कैलाली बहुमुखी क्याम्पसमा सरकारी लगानी ल्याउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँग आइतबार सम्झौता गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पस धनगढीबीच क्याम्पस समायोजन र हस्तान्तरण सम्बन्धमा भएको सम्झौता पछि कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाइएको हो। कैलाली बहुुमुखी क्याम्पसका तर्फबाट अध्यक्ष सुर्यबहादुर थापा र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राचार्य डा.अम्मराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
विस २०३७ सालमा सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस कैलाली कमर्श क्याम्पसको नामले खोलिएको थियो। य पछि कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको हो। कैलाली बहुमुखी क्याम्पसलाई २०४६ सालमा त्रिभुवन विश्वविद्यालयले देशकै उत्कृष्ट सामुदायिक क्याम्पस घोषणा गर्दै एक लाख ४५ हजार रूपैँया पुरस्कारसमेत प्रदान गरेको थियो।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.