प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख

बुधबार १८, भदौ २०८२ ०१:३७    Paschim Nepal News



gidda.jpg

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ । 

यस प्रदेशको कञ्चनपुर, कैलाली, बैतडी, डडेलधुरामा गिद्धको कोलोनी रहेको चराविद् एवं नेपाल पन्छी संरक्षण सङ्घ ९बिसिएन० का फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिए। उनले यस वर्ष थप कोलोनी पत्ता लाग्ने सम्भावना रहेको उल्लेख गरे। डङ्गौराले भने, “कतिपय ठाउँमा अझै पुग्न सकेका छैनौँ यस प्रदेशको थप अन्य जिल्लामा गिद्धको नयाँ कोलोनी फेला पर्ने सम्भावना धेरै छ ।” 

गिद्धको समूहलाई कोलोनी भन्ने गरिन्छ । यस्ता कोलोनी विगतमा कैलालीमै धेरै थिए। कैलालीको जाली सामुदायिक वनक्षेत्र र खुटिया वनक्षेत्रमा २०६८ सालतिर गिद्धको कोलोनी नेपालमै सबैभन्दा ठुलो पाइएको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउछन्। उनले भने, “पछि त्यो कोलोनी अन्यत्र स¥यो तर कैलालीका थुप्रै ठाउँमा अझै पनि गिद्धले गुँड लगाउने गरेका छन् ।” 

आफैँ सिकार नगर्ने तर मरेका, सडेगलेका सिनोमात्रै खाने गरेकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । गिद्धले वातावरणलाई प्रदूषित र दुगन्धित हुनबाट जोगाउनुका साथै स्वच्छ, सफा राखी हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्स जस्ता रोगको महामारी फैलिनबाट जोगाउने गरेका छन्। गिद्ध प्रकृतिको अभिन्न अङ्ग रहेकाले पर्यावरणीय चक्र र खाद्य शृङ्खला सन्तुलित राख्न यसको उपस्थिति अनिवार्य रहेको संरक्षणकर्मी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा गत वर्ष १४३ वटा गिद्धको सक्रिय गुँड भेटिएको थियो । यस वर्ष बढेर १५५ पुगेको बिसिएनले जानकारी दिएको छ । सो संस्थाले हरेक वर्ष गिद्धको गुँड अनुगमन गर्ने गरेको छ । यस वर्ष कञ्चनपुरमा सबैभन्दा बढी १२६, बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात वटा गुँड पाइएको छ । कञ्चनपुर र डडेलधुरामा गिद्धको गुँड बढेको छ भने कैलाली र बैडीमा विगत वर्षको तुलनामा केही घटेको छ । 

यस प्रदेशमा अति सङ्कटापन्न डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो, राज गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । कञ्चनपुरमा आठ र कैलालीमा सात प्रजातिका गिद्ध रहेका जनाइएको छ । 

यसैबिच नेपालमा साताव्यापी रूपमा १७ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस सचेतनामूलक विविध कार्यक्रम गरेर मनाउन थालिएको छ । प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस संसार मनाउने गरिन्छ । नेपालमा आफ्नो योजना र अनुकुलता अनुसार सेप्टेम्बर १ देखि ७ सम्म यो दिवस मनाइन्छ । विषादी प्रयोग, वनविनाश, बासस्थानको विनाशलगायतका कारणले गिद्धको अस्तित्व खतरामा परिरहेको छ । यद्यपि गिद्ध संरक्षणका लागि पछिल्लो समय नेपालका विभिन्न जिल्लामा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । 



प्रतिकृया दिनुहोस